काठमाडौं । नेपाली सिनेजगतका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको हिजो साउन २५ गतेबाट ७ पुरा भएर ८ वर्ष लाग्यो । तर केहीले बाहेक कलाक्षेत्र लगायत कुनै पनि क्षेत्रले उनको स्मरण गरेन, सायद बिर्सिए सबैले ! सबै कुरा, सधैँभरी सम्झना कहाँ हुन्छ र !
अरुले त बिर्सिए, बिर्सिए, उनकि पत्नी एवम् अभिनेत्री श्वेता खड्काले समेत बिर्सिइन् उनलाई गुमाएकाे दिन ! उनले श्रीलाई स्मरण गरेको एक दिन पुरै बितिसक्दा पनि कतै भेटिएन । हुन त स्मरण गर्ने मनले हो, गरिन् या गरिनन् त्यो थाहा छैन । तर सेलिब्रेटी भइसकेपछि उनीहरुको हरेक क्रियाकलाप छर्लङ्गै देखियोस् भन्ने चाहन्छन् दर्शक एवम् प्रसंसकहरु । तर श्वेताको सामाजिक सञ्जालमा यो वर्ष अटाएनन् श्री ।
अभिनेत्री श्वेताले व्यवसायीका छाेरा धनगढीका विजयन्द्रसँग बिवाह गरेकाे एक वर्ष पुग्दैछ । उनले गएकाे मंसिर २२ गते आफूभन्दा कान्छा प्रेमी विजयेन्द्रसँग धुमधामले विवाह गरेकी थिइन् । बिवाहकाे निर्णय गर्दैगर्दा उनले आफ्ना पूर्व पति एवम् अभिनेता श्रीलाई कहिल्यै नबिर्सने र उनको तस्विर विजयन्द र आफ्नो कोठामा झुन्डाउने बताएकी थिइन् । झुन्डाएकी छन् या छैनन् त्याे पनि उनै जानून् ।
विजयेन्द्रसँग विवाहकाे निर्णय लिँदै गर्दा उनले निकै भावुक अभिव्यक्ति राखेकी थिइन् सामाजिक सञ्जालमा – ‘एक्लै जीवन काट्न सकिन्छ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिँडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । अब उठ्नै सक्दिन कि भन्ने कमजाेर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनैपिच्छे करिब हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसंगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ । मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथी पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निःस्वार्थी हातहरु पाईन्छ र ? फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? लौ,भनेको जस्तो निःस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु ।’
उक्त स्टाटसपछि उनले धेरैकाे समर्थन पाइन् । तर विवाहपछि भने श्रीसँगकाे उनकाे प्रेममाथि प्रश्न उठाइयाे । श्रीसँगकाे उनकाे प्रेम श्वार्थी भएकाे, श्रीकाे सम्पत्ति हडप्न उनीसँग विवाह गरेकाे लगायतका आरोपहरु उनीमाथि लागे । अहिले उनकाे खुशीकाे डाह गर्नेहरू पनि प्रशस्तै छन् । तर उनले श्रीलाई बिर्सँदै जानुले भने उनकाे प्रेम के श्वार्थी नै थियाे त ? भन्ने प्रश्न उब्जन सक्छन् धेरैकाे मनमा !
हुन पनि हाे, मानिसले सबथाेक बिर्सन सक्छ तर पहिलाे प्रेम कहिल्यै पनि बिर्सन सक्दैन ! जीवनका विभिन्न चरणहरू पार गर्दै जाँदा, नयाँ सम्बन्धहरू जाेडिँदै जाँदा धुमिल जरूर हाेलान् तर बिर्सन असम्भव नै हुन्छ ! सायद अर्को बैवाहिक जीवन सुरु गरेर पो हो कि श्वेताले श्रीलाई भुलेकाे ! या त मनमनले याद गरेकी हाेलिन् कि ! त्यो त श्वेता नै जानुन् ।
त्यसाे त छाेडेर जानेलाई सधैँभरी सम्झिएर जीवन सम्झनामै अल्झाइराख्नु पनि उचित नहाेला !
सबैले बिर्सिरहँदा अभिनेत्री करिश्मा मानन्धर र निरूता सिंहले भने उनकाे सम्झना गरेका छन् । साेमबार श्रीलाई सम्झँदै निरूताले लेखेकी छिन् – ‘फेरी तिम्रो याद आयो । मेरो प्यारो श्री दाई तपाईँ हाम्रो मनमा हमेशा अमर रहनु हुने छ, हार्दिक श्रद्धाञ्जली ।’ यस्तै करिश्माले श्रीकृष्णसँगकाे भिडियाे पाेष्ट गर्दै लेखेकी छिन् – ‘तिमी सधैं हामी बिच सुनौलो सम्झना बनेर रहिरहनेछौ श्री, आज श्रवण २५ गते, हार्दिक श्रद्धासुमन !’
नायिका खड्काको नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते बिवाह भएको थियो । बिवाहको एक महिनापछि श्रेष्ठको निधन भएको थियो । त्यसयता श्वेता कलाकारितासँगै सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएकी थिइन् ।
नेपाली चलचित्र क्षेत्रमा श्रीकृष्ण श्रेष्ठकाे निकै ठुलाे याेगदान छ । उनकाे सहयाेगी र मिलनसार स्वभावका कारण उनीसँग सहकार्य गरेका उनलाई नजिकबाट चिनेका कसैले पनि उनलाई भुल्न सक्दैनन् । धेरैले उनलाई सम्झँदा ‘आँखामा राखेपनि नबिझाउने’ थिए भन्ने गर्छन् ।
उनले वि.सं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरेका थिए । ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए । उनको अन्तिम चलचित्र कोहिनुर हो । आफन्त, ए मेरो हजुर, बर पिपल, गोर्खाली, हामी तीन भाइ, पाहुना, आफ्नो मान्छे, अजम्बरी नाता, गरिब, नाता रगतको, जीवन रेखा, सुख दुःख, राम बलराम, कहाँ भेटिएला लगायत उनी अभिनित चलचित्र निकै चर्चित छन्, दर्शकले उनकाे अभिनयकाे तारिफ गर्छन् ।






