सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ स्थित जिरायत बजारमा मंगलबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार प्र ३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल र बा ५६ प ५२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा काठमाडौं महानगरपालिका २३ बसन्तपुरका ३० वर्षीय विवेक मानन्धर र रौतहटको माधवनारायण नगरपालिका ४ बिसुनपुरवाका ३३ वर्षीय नागेन्द्र साह सोनारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै चालकलाई उपचारका लागि रौतहटको चन्द्रनिगाहपुर प्रालि अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर दुबै मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरूको बागमती मोडेल अस्पताल, हरिवनमा उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान अघि बढाएको जनाएको छ ।




