रौतहट । राजपुर नगरपालिका ४ स्थित मेदनी चोकमा सञ्चालनमा रहेको एक औषधि पसलको अनुगमनका क्रममा सरकारी टोलीमाथि स्थानीय बासिन्दाले आक्रमण गरेका छन् । अनुगमन टोलीमा सहभागी अधिकारीहरू घाइते भएपछि घटनाले सुरक्षा र प्रशासनिक संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
औषधि व्यवस्था विभाग वीरगन्जको टोली जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनको सहयोगमा सोमवार राजपुर पुगेको थियो । जानकारी अनुसार, बिना अनुमति सञ्चालन भइरहेको औषधि पसलको छानबिनका लागि टोली त्यहाँ पुगेको थियो । प्रारम्भिक छानबिन नेक महमद नामक व्यक्तिको फार्मेसी केन्द्रित थियो ।
टोलीले पसलको निरीक्षण सुरू गरेलगत्तै फार्मेसी सञ्चालक फरार भएका थिए । त्यसपछि आकस्मिक रूपमा ठूलो संख्यामा स्थानीय महिला र पुरुषहरूको भीड जम्मा भइ टोलीलाई घेराबन्दी गर्यो । विवाद चर्किंदै गएपछि भिडले टोलीमाथि हातपात सुरु गर्यो ।
कुटपिटमा औषधि व्यवस्था विभागका सुपर मेनेजर, फार्मेसी अधिकृत, प्रशासनिक कर्मचारी तथा एक प्रहरी निरीक्षकसहित पाँचजना घाइते भएका छन् । साथै, भिड नियन्त्रणका क्रममा एक स्थानीय महिला पनि सामान्य घाइते भएकी छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
घटनापछि प्रहरीले अनुसन्धान थालेको छ भने दोषी पहिचान गरी कानुनी प्रक्रिया अघि बढाइने बताएको छ । सोमवारको यो घटना मंगलबार सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडमा सहभागी केही महिलाहरूको अनुगमन टोलीमाथिको आक्रोश भिडियोमा स्पष्ट देखिन्छ ।
यस्ता घटनाले औषधि क्षेत्रको नियमन र सुरक्षाको अवस्था प्रति चिन्ता थपिएको विश्लेषकहरू बताउँछन् । सरकारी कर्मचारीको सुरक्षामा चुनौती आउने यस्ता घटनाले राज्य संयन्त्रको प्रभावकारिता परीक्षणमा परेको छ ।




