सप्तरी । सप्तरीको खडक नगरपालिका ७ स्थित नेपाल बैंक लिमिटेडको शाखामा गएराति चोरी भएको छ । चोरी बैंकका सुरक्षागार्ड सुतिरहेको अवस्थामा भएको हो । सप्तरी प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र कुमार बस्नेतका अनुसार चोरी राति १२:२० बजेबाट बिहान ३ बजेबीच भएको हो ।
चोरीका बेला बैंकका दुई सुरक्षागार्ड – शम्भुनाथ नगरपालिका ७ का प्रमोद चौधरी (३९) र कञ्चनरुप नगरपालिका ५ का पर्शुराम चौधरी (४४) गार्डका लागि छुट्टाइएको कोठामा निदाएका थिए ।
चोरहरूले गार्डको कोठाको दराज फोरेर १२ बोरको एकनाले बन्दुक, त्यसको २० राउन्ड गोली, दुईवटा मोबाइल, डिजिटल तराजु र एक झोला चोरी गरेका थिए । चोरी भएको जानकारी गार्डहरूले बिहान ३:३० बजे इलाका प्रहरी कार्यालय कल्याणपुरलाई दिएका थिए ।
रकम भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका एक व्यक्तिले आफूलाई कसैले हतियार चोरेर ल्याउन भनेको र त्यसका लागि पैसा दिने आश्वासन दिएको स्वीकारेका छन् ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो । साथै, चोरीको विवरण जिल्ला प्रहरी कार्यालय सप्तरी, सिराहा लगायतका जिल्ला प्रहरी इकाइहरूलाई पनि सर्कुलरमार्फत जानकारी गराइएको थियो ।
घटना सम्बन्धी सीसीटीभी फुटेज समेत अनुसन्धानका लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न भएको आशंकामा सिरहाको लहान नगरपालिका ३ स्थित हस्पिटल चोक नजिकबाट खडक नगरपालिका ६ का २० वर्षीय अपसाद अंसारी पक्राउ परेका छन् ।
बिहान ३:४५ बजे इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका अंसारीको साथबाट चोरी भएका बन्दुक र गोलीसहित ल्यापटप २ थान, कम्प्युटर स्क्यानर २ थान, मोबाइल ५ थान, खुकुरी २ थान, घडी २ थान र डिजिटल तराजु बरामद गरिएको छ ।
चोरी भएको बन्दुक बैंकबाट करिब ५०० मिटर पश्चिमतिरको झाडीमा लुकाइएको अवस्थामा फेला परेको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अर्को टोली खटिएको छ । प्रहरीले चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि तीव्र पारेको छ ।




