सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका १ स्थित प्रसिद्ध कलावती माई मन्दिरको प्राङ्गणमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्ने व्यक्ति भारतको सितामढी जिल्लास्थित ग्राम पञ्चायत भलुवाहा १ निवासी ६५ वर्षीय बरण महतो कोईरी रहेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार बरण महतो शुक्रबार बिहान मन्दिर परिसरमा रहस्यमय तरिकाले मृत भेटिएका हुन् । शव फेला परेपछि घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली पुगेर कानुनी प्रकृया अनुसार मुचुल्का तयार गरिएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा पठाइएको प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक रूपमा मृत्युको कारण खुल्न सकेको छैन भने प्रहरीले घटनालाई शंकास्पद मानेर अनुसन्धान सुरु गरेको जनाएको छ ।




