काठमाडौं । रातभर परेको अविरल वर्षाले धरान-धनकुटा राजमार्ग अन्तर्गत फेदीमा लेउती खोलाले सडक बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ । साँगुरीगढी गाउँपालिका ६ फेदीमा करिब ५० मिटर सडक खोलाले कटान गरी बगाउँदा कोशी राजमार्ग भएर आवतजावत ठप्प भएको हो ।
सडक बगाएपछि सयौं यात्रुहरू अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा धरानबाट धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभाका लागि छुटेका तथा ती जिल्लाहरूबाट तराईतर्फ आउँदै गरेका सयौं सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् ।
सडक डिभिजन कार्यालयका प्राविधिकहरूका अनुसार, खोलाको बहाव र कटान निरन्तर रहेकाले तत्काल मर्मत सुरु गर्ने अवस्था छैन ।






