महोत्तरी । महोत्तरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट करिब १ सय ४८ किलो अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको टोलीले रामगोपालपुर नगरपालिका ५ रामगोपालपुर चोकमा जाँचका क्रममा करिब १०७ किलो ९ सय ग्राम गाँजासहित एक युवकलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका ६ निवासी २६ वर्षीय दिपक दाहाल छन् । बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको बागमती प्रदेशको बिएसी ८७३९ नम्बरको कारको डिक्कीमा लुकाइछिपाई राखिएको अवस्थामा ७ वटा पोका गाँजा फेला पारी चालक दाहाललाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी, शुक्रबार राति बर्दिबास नगरपालिका ५ स्थित माईस्थानबाट गौशालातर्फ जाँदै गरेको बा ०१–०३० च ७८०५ नम्बरको कारबाट करिब ४० किलो ४ सय २० ग्राम गाँजासहित अर्का युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका ११ का ३१ वर्षीय रंगलाल स्याङतान रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बर्दिबास तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको टोलीले कारभित्र लुकाइएको गाँजा बरामद गर्दै चालक स्याङतानलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




