काठमाडौं । नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै उनलाई बधाई र शुभकामनाकाे ओइरो लागेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै नागरिक पनि खुशी छन् ।
बारम्बार बत्ती झ्याप झ्याप निभिरहने समस्या अब हट्ने आशा प्रकट गर्दै उनीहरुले ऊर्जामन्त्री पम्फा भुसाल र शेरबहादुर देउवा सरकारलाई धन्यवाद समेत दिएका छन् । उनकाे नियुक्तिसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नागरिक खनिएका छन् । उनलाई प्राधिकरणबाट हटाउँदै गर्दा पनि नागरिकले दुःख मानेका थिए । त्यतिबेला पनि ओलीविरुद्ध नागरिक उत्रिएका थिए । प्राधिकरणमा कुलमान पुनः फर्किएसँगै नागरिकमा खुशी छाएको छ ।
कुलमानकाे नियुक्तिमा प्रतिक्रिया राख्दै एक सामाजिक सञ्जाल प्रयाेगकर्ताले लेखेका छन् – ‘कुलमानको कमब्याक : प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति, ऊर्जामन्त्री पम्फा भुसालको सहयोग ! यस कुराले पनि प्रष्ट पार्दैन र ? कसले देशको हित चाहेको छ र कसले अहित ? कुलमान फ्याँक्ने ती केपी र कुलमान राख्ने यी प्रचण्डमा फरक छुट्याउने कि ?’
यस्तै अर्का प्रयाेगकर्ताले प्रश्न गरेका छन् – ‘केपी बा, तपाईँलाई टेन्सन भयो होला होइन ?’
यस्तै अर्काले प्रयाेगकर्ताले भने अरूलाई पनि अवसर दिनुपर्ने बताएका छन् – ‘कुलमानलाई मात्र राखेर हुन्छ ? अरु आउनु पर्दैन ? के उनी विना संस्था चल्न सक्दैन ?’ एक प्रयाेगकर्ताले बधाई दिँदै लेखेका छन् – ‘जनता खुशीले गद्गद् छन् । जय उज्यालो । जय कुल्मान । नेपाल आमाका सच्चा एक मात्र सपूत कुल्मान घिसिङज्यू, हार्दिक बधाई !’
यस्ता धेरै प्रतिक्रियाहरु सामाजिक सञ्जालमा छन् –
– ‘एक असल नेतृत्व कुलमान घिसिङ्ग आउँदा त देशमा राजा आए जत्तिकै खुशी लाग्दो रहेछ । बधाई छ कुलमान सर । अझ सुदृढीकरण को शुभकामना ।’
– ‘ल बधाई छ, सत्य र ईमानदार कर्मचारीलाई यसरी नै पुनर्स्थापना गर्नु पर्छ । धन्यवाद छ अहिलेको गठबन्धन सरकारलाई ।’
– ‘राम्रो र खुबी भएको प्रसासकलाई खोजी खोजी कुर्सीमा राख्छन् जनताले सलाम तँपाईलाई कुलमान ।’
– ‘उहाँको कार्यक्षमतामा हामिलाई कुनै शंका छैन । तर उहाँले जत्तिकै काम गर्न सक्ने नेतृत्ववान कर्मचारी अरु पनि चाहिन्छ । एउटै नेतृत्वले सधैँभरी लिड गर्न सक्दैन संस्थालाई !’
कुलमान २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए । गत साउन १९ गते नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले शाक्यलाई सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने बिदा हुन आग्रह गरेकी हुन्।
सोहीअनुसार घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ । सरकारले शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो । यसका लागि अर्थ मन्त्रालयले पनि सहमति दिएको छ ।






