रौतहट । रौतहटको बहुचर्चित राजपुर बमकाण्डमा संलग्न रहेको अभियोगमा जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको छ । अदालतको यो निर्णयसँगै आलम पाँच वर्ष आठ महिना जेल बसेर रिहा भएका हुन् । तर अदालतको फैसला प्रति पीडित पक्षले गहिरो असन्तुष्ट देखिएको छ ।
२२ वर्षको उमेरमा बम बिस्फोटमा परी गम्भीर घाइते भई इँटा भट्टामा जिउँदै जलाएर मारिएको भनिएका त्रिलोकप्रताप सिंहका ८४ वर्षीय पिता श्रीनारायण सिंहले अदालतको निर्णय प्रति गहिरो आक्रोश व्यक्त गर्दै सर्वोच्च अदालतमा जाने बताएका छन् । यमुनामाई गाउँपालिका ४ सरुअठाका सिंहले भने, “न्यायका लागि सास रहुन्जेल लडिरहने छु ।” उनले विगत १६ वर्षदेखि न्यायको प्रतीक्षामा रहेको बताएका छन् ।
दोस्रो पक्षका अनुसार भने फैसलाले सत्यको विजय भएको दाबी गरिएको छ । पूर्वसांसद आलमका भाई मोहम्मद महताद आलमले रिहा भएपछी पत्रकारहरूसँग प्रतिक्रिया दिँदै भने, “हामीले अघिल्लो पटक पनि अदालतको सम्मान गरेका थियौं, अहिले पनि गरिरहेका छौं । न्याय पाएकोमा धन्यवाद दिन चाहन्छौं ।”
बम विस्फोट र जिउँदै जलाएर हत्या अभियोग
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन, चैत्र २८ गते रौतहटको राजपुरमा बम विस्फोट हुँदा कयौं घाइते भएका थिए । घाइतेहरूलाई उपचारको साटो जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपमा मोहम्मद आफताब आलमसहित अन्य व्यक्तिहरूलाई मुद्दा चलाइएको थियो ।
जिल्ला अदालतले जन्मकैद, उच्च अदालतले उल्टायो फैसला
सुनुवाईपछि रौतहट जिल्ला अदालतले २०८१ वैशाख १४ गते आलमसहित दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । तर उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार (२०८१ जेठ १७ गते) उक्त फैसला उल्टाउँदै आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई सफाइ दिएको हो ।
आलम हाल अस्पतालमा उपचाररत
अदालतको फैसलासँगै रिहा भएका पूर्वसांसद आलम हाल मस्तिष्कघात ९ब्रेन स्ट्रोक० का कारण माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्षमा उपचाररत छन् ।




