सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान मीनबहादुर दानीको उपचारका क्रममा मृत्यु भएको छ ।
दिउँसो सवा १ बजे ईश्वरपुर नगरपालिका ५ स्थित फुलजोर चोकमा ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तरतर्फ राजमार्गमा निस्कन खोज्दै गरेको बीआर ०१ एफजे ६९६१ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक दानी गम्भीर घाइते भएका थिए ।
दानीको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले उनलाई प्रारम्भिक उपचारका लागि लालबन्दीस्थित मोडल अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको र पछि बारास्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएको थियो । तर साँझ करिब सवा ५ बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ ।
मृतक दानी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका ६ घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका ३ मा कार्यरत मुस्लिम आयोगका माननीय सदस्य मोहमद सम्सुल हकका व्यक्तिगत सुरक्षा गार्डको रूपमा खटिएका थिए ।
दुर्घटनामा संलग्न टिपर चालक ३६ वर्षीय नारायण दत्त श्रेष्ठ (सुशील) लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सर्लाहीकै लालबन्दी नगरपालिका १७ (रानीगञ्ज)का हुन् । प्रारम्भिक स्वास्थ्य परीक्षणबाट उनले मादक पदार्थ सेवन नगरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




