काठमाडौं । तिलाठी कोईलाडी गाउँपालिकामा टेन्डरको विज्ञापन प्रकाशनमा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन मिडिया सञ्चालकविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, सह-लेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडिया प्रालिका भूषण कुमार सिंह, डच मिडिया प्रालिका निर्देशक रवि अर्याल र प्रभाव राष्ट्रिय दैनिकका प्रबन्ध निर्देशक कृष्ण बहादुर कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार उनीहरूले आपसी मिलेमतोमा गैरकानुनी लाभ उठाउने उद्देश्यले गाउँपालिकाको टेन्डरसम्बन्धी सूचना सार्वजनिक रूपमा प्रकाशित नगरी मात्र औपचारिकताका लागि अभिलेखमा राख्ने नियतले एक प्रति मात्र सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित गरेका थिए । तर, प्रेस काउन्सिल नेपालको मिति २०७९ चैत २३ गतेको पत्रअनुसार ती सूचना वास्तविक रूपमा सौर्य दैनिकमा प्रकाशन नभएको पाइयो ।
सूचना लुकाएर अनियमितता गरिएको ठहर गर्दै अख्तियारले झुटा विल भरपाईसहितका कागजातको आधारमा टेन्डर प्रकाशन खर्चको रूपमा ३ लाख १६ हजार ४१० रुपैयाँ टाइम्स रिपब्लिक मिडिया प्रालिलाई भुक्तानी दिएको जनाएको छ ।
सो मिडियाले सूचना प्रकाशनको कार्य मौखिक रूपमा डच मिडिया प्रालिलाई दिएको र डच मिडियाले त्यसलाई प्रभाव दैनिकमा छपाउन दिएको पुष्टि समेत अख्तियारले गरेको छ । यसरी सार्वजनिक सूचना पारदर्शी रूपमा प्रकाशित नगरी लुकाएर जनहितविपरीत गरिएको कामले गाउँपालिकालाई आर्थिक हानी पुर्याएको निष्कर्ष निकाल्दै अख्तियारले संलग्न सबैलाई भ्रष्टाचारको आरोपमा कारबाही माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।




