ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ मा भएको खुकुरी आक्रमणमा एक युवकको ज्यान गएको छ भने घटनामा संलग्न रहेका अर्का युवकलाई प्रहरीले जंगलबाट पक्राउ गरेको छ ।
फुङलिङ ६ का २८ वर्षीय तेजेन्द्र लिम्बूको खुकुरी प्रहारबाट ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सोही स्थानका ३२ वर्षीय अर्जुन गुरुङलाई भिरकुना जंगलबाट पक्राउ गरेको हो । गुरुङ घटनापछि फरार रहेका थिए ।
घटना फक्तालुङ गाउँपालिका ३ स्थित फुपु योगमाया लिम्बूको घरमा पाहुना गएका बेला सुरु भएको विवादबाट सुरु भएको हो । अर्जुन गुरुङ र उनकी श्रीमतीबीच सामान्य भनाभन भएपछि घरधनीले सम्झाइ बुझाइ गर्दै छिमेकी तेजेन्द्र लिम्बूको साथमा उनीहरूलाई घर पठाएका थिए ।
तर, बाटोमै अर्जुन गुरुङले तेजेन्द्रमाथि एक्कासी धारिलो हतियार खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्या पछि भाग्दै गरेका गुरुङलाई प्रहरीले फुङलिङ ९ को भिरकुना जंगलबाट नियन्त्रणमा लिएको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






