काठमाडौं । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार मधेश प्रदेश सभाको बैठकमा प्रस्तुत गरेकी छन् । प्रदेश प्रमुख भण्डारीले २६ पृष्ठमा समेटिएको नीति तथा कार्यक्रम विस्तारमा प्रदेश सभामा पेस गरेकी हुन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, रोजगार, स्वास्थ्य, उद्योग, खेलकुद र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । यसैगरी, चुरे क्षेत्रका वन जंगल संरक्षणदेखि डिजिटल प्रणालीको प्रयोगसम्म विभिन्न योजना र कार्यक्रमहरू समावेश गरिएका छन् ।
प्रदेश प्रमुख भण्डारीले नीति तथा कार्यक्रमले प्रदेशको समग्र विकास र समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन् । नीति तथा कार्यक्रमको आधारमा आगामी आर्थिक वर्षमा मधेश प्रदेशमा विविध विकासका कामहरू अघि बढाइनेछ ।
प्रदेश सरकारले स्थानीय स्तरमा रोजगारी सृजना, कृषिको आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सेवामा सुधार र प्रविधिको सदुपयोगमा जोड दिने योजना बनाएको छ । प्रदेशसभामा नीति तथा कार्यक्रम माथि छलफल र स्वीकृति प्रक्रिया अगाडि बढ्नेछ ।






