रौतहट । बारा र रौतहट जिल्लामा आइतबार आगलागी भएको छ । दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागी घटनामा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बारा जिल्लाको बिश्रामपुर गाउँपालिका १ खेखरिया गाउँमा सुरेन्द्र पण्डितको घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी भएको थियो ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगलागीले करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । त्यसैगरी, रौतहट जिल्लाको परोहा नगरपालिका ६ बसन्तपट्टी टोलस्थित बनारसी जैसवालको घरमा पनि आइतबार राति विद्युत सर्टका कारण आगलागी भएको हो ।
आगलागीबाट करिब १ लाख १० हजार ९ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुबै स्थानमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । विद्युत सर्टकै कारण पछिल्ला दिनहरूमा यस्ता घटनामा वृद्धि देखिएको भन्दै प्रहरीले विद्युत उपकरणको सावधानीपूर्वक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




