वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डि एन्ड एन बिल्डर्समार्फत निर्माण हुने भनिएको अस्पताल प्रकरणमा प्रदेशसभा सदस्यसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार तत्कालीन प्रबन्ध निर्देशक तथा हाल प्रदेशसभा सदस्य रहेका दीपेन्द्रकुमार ठाकुर, धनुषाको औरही गाउँपालिका २ का तत्कालीन अध्यक्ष बहादुर यादवसहित १७ जनाले सार्वजनिक सम्पत्तिमा हिनामिना गर्दै राज्यलाई आर्थिक नोक्सानी पुर्याएको ठहर गरिएको छ ।
अख्तियारका प्रवक्ता रामेन्द्र प्रसाद पाण्डेका अनुसार, धनुषाको औरही गाउँपालिका २ देउरी परवाहामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट निर्माण गर्न लागिएको १५ श्ययाको अस्पतालमा भ्रष्टाचार भएको पाइएको हो । अस्पताल निर्माणका लागि अनुमानित लागत २४ करोड ४३ लाख ५२ हजार ६५० रुपैयाँ तोकिएको थियो ।
प्रवक्ता पाण्डेले बताएअनुसार, अस्पताल निर्माणको लागि आह्वान गरिएको बोलपत्र प्रक्रियामा जानबुझेर प्राविधिक शर्तहरू यति कठोर बनाइएको थियो कि धेरै प्रतिस्पर्धी कम्पनीहरू स्वत: अयोग्य घोषित हुने अवस्था सिर्जना गरिएको थियो । एकमात्र १५ श्यया अस्पताल निर्माणको अनुभव भएको र ५१०० वर्गमिटरको कामको अनुभव भएको कम्पनी मात्र बोलपत्रमा सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो ।
त्यसका कारण १५ मध्ये १३ वटा बोलपत्रदाता कम्पनीहरू प्राविधिक मूल्याङ्कनमा अयोग्य घोषित गरिएका थिए । बाँकी दुई कम्पनीमध्ये लुम्बिनी/डि एन्ड एन जेभी र समानान्तर/बबल जेभीले म्याद सकिने अन्तिम दिन मात्र बोलपत्र दिएका थिए ।
अख्तियारका अनुसार, सबैभन्दा कम दर रु १२ करोड ३५ लाख ५० हजार २४८.८५ प्रस्ताव गर्ने प्रतिष्ठा/धुलिखेल/एक्सिस एशियन जेभी प्राविधिक मूल्याङ्कनमा अयोग्य ठहर गराई, उच्च दर (रु १९ करोड १४ लाख ६२ हजार ६३२.८३) प्रस्ताव गर्ने लुम्बिनी/डि एन्ड एन जेभीलाई ठेक्का दिइएको थियो । यसरी करीब ६ करोड रुपैयाँ महँगो प्रस्तावलाई छनोट गरिएको आयोगको दाबी छ ।
ठेक्का प्रक्रियामा प्रभाव पार्दै मिलेमतो गरेर प्रतिस्पर्धा कृत्रिम रूपमा सीमित बनाएको र पारदर्शिता नदेखिएको प्रमाणित भएकाले ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । प्रदेशसभा सदस्य ठाकुरविरुद्ध मुद्दा दायर भएसँगै उनको पद स्वत: निलम्बनमा परेको छ । उनी एमालेबाट धनुषा क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।




