कलैया । अत्यधिक गर्मीका कारण बारा जिल्लाको कलैया उपमहानगरपालिका र पर्सा जिल्लाको पोखरिया नगरपालिकाले जेठ ३१ गतेसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेका छन् ।
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यालयहरू जेठ ३० गतेसम्म बन्द रहने जानकारी दिए ।
त्यस्तै, कलैया उपमहानगरपालिकाले पनि अत्यधिक गर्मीका कारण उपमहानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख राजीवकुमार यादवद्वारा जारी सूचनामा जेठ २८ गतेदेखि ३१ गतेसम्म विद्यालय बन्द रहने उल्लेख छ ।
तर, जेठ २८ गते कबीर जयन्तीका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ भने, जेठ ३१ गते शनिबार पनि सार्वजनिक बिदा पर्ने भएकाले विद्यालयहरू असार १ गते आइतबारदेखि मात्र सञ्चालनमा आउने छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरू विद्यालयमै बेहोस हुने र स्वास्थ्यमा असर पर्न थालेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको स्थानीय तहहरूले जनाएका छन् ।




