रौतहट । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या देखिन थालेपछि रौतहटको गौर नगरपालिकाले सबै विद्यालयलाई बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै आज बिहीबारदेखि लागू हुने गरी सामुदायिक तथा निजी विद्यालयहरूलाई बिहान ६ बजेदेखि कक्षा सुरु गर्न निर्देशन दिएको हो ।
गौर नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमकुमार उपाध्यायका अनुसार पछिल्ला केही दिन यता दिउँसोको समयमा अत्यधिक गर्मी र तातो हावा चलिरहेकाले कक्षा सञ्चालन गर्दा विद्यार्थीहरूमा नकारात्मक स्वास्थ्य प्रभाव देखिएको छ ।
यस्तो अवस्था दृष्टिगत गर्दै बिहानको समयमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए । उनले तोकिएको समयमा कक्षा नचलाउने विद्यालयहरूमाथि कारबाही गरिने चेतावनी समेत दिएका छन् ।
यसैबीच, रौतहटको दुर्गाभगवती गाउँपालिकाले भने गर्मीका कारण बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष शम्भु सिंहका अनुसार गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएकाले वर्षे बिदाबाट कट्टा हुने गरी दुई दिनको गर्मी बिदा दिइएको हो ।
रौतहटका १८ स्थानीय तहमध्ये गौर नगरपालिका र दुर्गाभगवती गाउँपालिकाले मात्रै विद्यालय सञ्चालन बारे निर्णय गरेका छन् । अन्य स्थानीय तहहरूले भने कक्षा सञ्चालनको समय परिवर्तन गर्ने वा विद्यालय बन्द गर्ने सम्बन्धमा कुनै निर्णय गरेका छैनन् ।
पछिल्ला दिनहरूमा चर्को घाम र तातो हावाले रौतहटको जनजीवन प्रभावित भएको छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित देखिएका छन् । स्थानीय प्रशासन र विद्यालयहरूलाई विद्यार्थीको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक निर्णय गर्न शिक्षा क्षेत्रका सरोकारवालाहरूले आग्रह गरेका छन् ।




