काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशसभा सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । उनीमाथि उपभोक्ता समितिमार्फत सञ्चालित योजनाबाट गैरकानुनी रूपमा कमिसन असुली गरेको आरोप लागेको छ ।
महोत्तरी क्षेत्र नं. ४ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित सिंहलाई आयोगको टोलीले काठमाडौंको विजुलीबजार क्षेत्रबाट पक्राउ गरेको हो । स्रोतका अनुसार, सिंहले आफू मातहतका निर्वाचन क्षेत्र विकास योजनाहरू उपभोक्ता समितिमार्फत बिक्री गरी २५ देखि ३० प्रतिशतसम्म कमिसन लिँदै आएका थिए ।
आयोगले यस बारे गोप्य सूचना पाएपछि छानबिनको क्रममा सिंहको घरमा छापा मारी विभिन्न कागजातहरू समेत बरामद गरेको जनाएको छ । उनी मधेश प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।
अख्तियारका अनुसार, सिंहले प्रदेशसभा सदस्यको हैसियत प्रयोग गर्दै योजनाहरू वितरण गर्ने, आफू निकटका उपभोक्ता समितिमार्फत निर्माण कार्य दिने र त्यसबापत ठेक्केदार वा समितिबाट प्रतिफलस्वरूप ठूलो प्रतिशतमा रकम असुल्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
योजनाको पैसा जनताको जीवनस्तर सुधारमा खर्चिनुपर्नेमा त्यसको दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप लागेका सिंहमाथि अब थप अनुसन्धान अगाडि बढाइने आयोगले जनाएको छ ।
यो घटनाले मधेश प्रदेश सरकारभित्रको शासकीय पारदर्शिता र भ्रष्टाचार नियन्त्रण सम्बन्धी गम्भीर प्रश्न उठाएको छ । आयोगले यस्ता क्रियाकलापमा संलग्न अन्य सार्वजनिक पदधारीमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ ।




