काठमाडाैं । नेपालमा काेराेना भाइरस संक्रमण दर दिनहुँ उकालाे लागिरहेकाे छ । सामान्य घटबढ भएपनि काेराना संक्रमित दरमा नियन्त्रण हुन सकेकाे छैन । दिनहुँजसाे तीन हजार भन्दा माथि छ संक्रमित दर । मंगलबार अझै बढेकाे थियाे संक्रमण । मंगलबार ४ हजार ९०४ संक्रमित थपिएका थिए । आज पनि तीन हजार माथि संक्रमित थपिएका छन् । तीन हजार ४८१ जना थपिएका छन् ।
दिनहुँजसाे तीन हजार माथि संक्रमित हुँदा, ३०-३५ जना नागरिककाे ज्यान गइरहँदा नियन्त्रणका लागि सरकारले खासै कुनै कदम उठाउन सकेकाे देखिँदैन । नागरिक पनि बेपरवाह भएर खुलमखुल्ला हिँडिरहेका छन् । कतिले त मास्क समेत लगाएकाे पाइँदैन ।
काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ तर कडाइ भने खासै छैन । नागरिकहरु विना काम पनि डुलिरहेका छन्, मास्क समेत नलगाइ । भीडभाड, सभा सम्मेलन र प्रदर्शन पनि भइरहेको छ, हाेटल रेष्टुराँहरू पनि खुल्ला छन्, जसकारण काेराेना संक्रमित दरमा सुधार हुन सकेकाे छैन ।
निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुगिसक्दा पनि काेभिड नियन्त्रणमा आउन सकेको छैन । नाममात्रको निषेधाज्ञा देखिएको छ ।
अस्पतालमा बिरामीकाे चाप बढिरहेकाे चिकित्सकले बताइरहेका छन् । निको हुने दर घटेको छ भने मृत्युदर पनि बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख कालीप्रसाद पराजुली पनि काठमाडौं रेड जोनमा पुगेको बताएका छन् । विज्ञहरुले पनि लापरवाही गरे तेस्रो लहर भयावह हुन सक्ने चेतावनी दिइरहेका छन् ।
महामारी नियन्त्रणमा नागरिकको पनि उतिकै भूमिका रहन्छ । तर नागरिक बेपरवाह भएर हिँडिरहेका छन् । खोप पनि सबैसम्म पुगिसकेको अवस्था छैन । यस्तोमा सरकारले कडाइ नगरे महामारी भयावह हुने निःश्चित देखिन्छ ! सबै सचेत हुन र सावधानी अपनाउन जरूरी छ ।






