सप्तरी । तिलाठी कोईलाडी गाउँपालिकामा नक्कली शैक्षिक प्रमाणपत्र प्रस्तुत गरी सव-इन्जिनियर पदमा नियुक्ति लिएको पुष्टि भएपछि तत्कालीन प्राविधिक सहायक दिपेन्द्र कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार झाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पश्चिमाञ्चल क्याम्पस, लामाचौर, पोखरा बाट सिभिल इन्जिनियरिङ डिप्लोमा उत्तीर्ण गरेको भनी नक्कली ट्रान्सक्रिप्ट र चरित्र प्रमाणपत्र पेश गरी करारमा नियुक्ति लिएका थिए ।
उक्त नक्कली प्रमाणपत्र प्रयोग गरी उनले सरकारी ओहदा, लाभ र सेवा सुविधा प्राप्त गरेका थिए । अनुसन्धानपछि यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसार गम्भीर आपराधिक कसुर भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
विशेष अदालत, काठमाडौंमा दिपेन्द्र कुमार झाविरुद्ध कैद सजाय र जरिवाना माग गर्दै आज आरोपपत्र दर्ता गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।




