महोत्तरी । महोत्तरीको रम्तेलडाँडा सामुदायिक वन क्षेत्रभित्र नियमविपरीत रुख कटान गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गरिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ ।
अख्तियारका अनुसार डिभिजन वन कार्यालय, जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह, सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव लगायतका कर्मचारीहरुले सामुदायिक वनका विभिन्न रुखहरू लाभ दिलाउने नियतले काटेको पुष्टि भएको छ ।
उक्त कार्यले रु. ११ लाख ९६ हजार ६९५ बराबरको हानी नोक्सानी पुर्याएको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार दोषीहरूलाई कैद र जरिवानासहित बिगो असुल उपर गर्न माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो ।
तर, विशेष अदालतले २०८१ साल असार २५ गते आंशिक सफाइ दिएपछि आयोगले सो फैसलाविरुद्ध २०८२ साल असार २ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो ।
अख्तियारले मुद्दासँग सम्बन्धित गलत विवरण र सर्जमिन मुचुल्का तयार पारिएको विषयमा पनि दफा १९ अन्तर्गत कैद र जरिवाना सजाय माग गरेको जनाएको छ ।
अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले उक्त जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।




