काठमाडौं । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित ईडीफाई इन्टरनेशनल स्कुलको कम्पाउण्डभित्र सोमबार दिउँसो भएको एक दुखद सडक दुर्घटनामा स्कुलमै अध्ययनरत ९ वर्षीया बालिका सोनाक्षी यादवको ज्यान गएको छ ।
सोनाक्षी काठमाडौंको कुलेश्वरमा बसोबास गर्दै आएकी सर्लाही घर भएकी बालिका हुन् । स्कुलकै माईक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनलाई तत्कालै सहिद मेमोरियल अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भयो ।
उक्त दुर्घटनामा सोही स्कुलका अन्य ६ जना विद्यार्थीहरू पनि घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको नेपाल नेशनल अस्पतालमा र १ जनाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका भ्यान चालकको समेत बयोधा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
स्कुल परिसरभित्रै सवारी साधनको लापरवाहीका कारण भएको यस दुर्घटनाले अभिभावक र स्थानीयमा आक्रोश तथा चिन्ता पैदा गराएको छ । प्रहरीका अनुसार घटना बारे विस्तृत अनुसन्धान भइरहेको छ ।




