काठमाडौं । पर्सा जिल्लाको यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र अधिकृत (आठौं तह) पदमा कार्यरत रहँदाका बेला गैरकानूनी ढंगले करोडौं रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा कमल राज गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार गौतमले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको अवधिमा वैधानिक रूपमा रु. २ करोड ८९ लाख २० हजार २ सय ६८ मात्र आम्दानी गरेका थिए । तर सोही अवधिमा उनले रु. ५ करोड ४० लाख ९८ हजार ९ सय ५५ बराबरको सम्पत्ति खर्च तथा लगानी गरेका छन् ।
यो रकममा घर निर्माण, जग्गा खरिद, सवारी साधन खरिद, सुन किन्नेदेखि लिएर बैंकमार्फत गरिएको खर्च र लगानी समेत समावेश छ । सोही आधारमा कमल राज गौतमले सो अवधि भित्र रु. २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ बराबरको स्रोत नखुलेको रकम गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको अख्तियारको दाबी छ ।
त्यसैले अख्तियारले उनलाई पूर्व भ्रष्टाचार निवारण ऐन, २०१७ र वर्तमान ऐन २०५९ को विभिन्न दफासमेत प्रयोग गर्दै कैद, जरिवाना र सम्पत्ति जफतको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
गौतमले सेवा अवधिभर श्रीमती सरला नेपालको आम्दानी, सवारी बिक्री आय, बैंक ऋण, शेयर बिक्री, कृषि आय, घर भाडा आय, बीमा परिपक्क र ब्याज आय लगायत विभिन्न माध्यमबाट आम्दानी भएको देखिए तापनि कुल खर्च तुलनात्मक रूपमा अत्यधिक देखिएको अख्तियारको विश्लेषणमा उल्लेख छ ।
त्यसैगरी, उनले राष्ट्रसेवक पदमा बहाल भएपछि नियमित रूपमा पेश गर्नुपर्ने सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति लुकाएर झुठा विवरण पेश गरेकोसमेत पुष्टि भएको आयोगको भनाइ छ । सोही आधारमा आयोगले उक्त सम्पत्तिको जफतसमेत माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दाका प्रमुख मागहरू
– गैरकानूनी आर्जनको आरोपमा कैद सजाय र बराबरको जरिवाना
– रु. २ करोड ५१ लाख ७८ हजार ६ सय ८७ बराबरको सम्पत्ति जफत
– भ्रष्टाचार निवारण ऐन २०७५ र आयोग ऐन २०४८ अनुसार कानूनी कारबाही
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले विज्ञप्तिमार्फत सो विवरण सार्वजनिक गरेका हुन् । आयोगले यस्ता भ्रष्टाचारजन्य गतिविधिमा कडाइका साथ अनुसन्धान तथा कारबाहीको प्रक्रिया निरन्तर जारी रहने स्पष्ट पारेको छ ।




