रौतहट । रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको खोजीमा काठमाडौं पुगेका छन् । उनका छोरा त्रिलोकप्रताप सिंहको मृत्यु राजपुर बमकाण्डमा भएपछि दोषीहरूलाई सफाइ दिएको भन्दै उनले न्याय परिषद्मा निवेदन दर्ता गराएका छन् ।
राजपुर बमकाण्डका मुख्य आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमसहित चार जनालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले सफाइ दिएको थियो ।
उक्त फैसलापछि असन्तुष्ट बनेका श्रीनारायण सिंहले न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध छानबिनको माग गर्दै मंगलबार न्याय परिषद्मा औपचारिक निवेदन दर्ता गराएका हुन् ।
उनले दर्ता गराएको निवेदनमा न्यायाधीशद्वयले बदनीयतपूर्वक प्रतिवादीहरूलाई सफाइ दिएको गम्भीर आरोप लगाइएको छ । साथै, उनीहरूलाई निलम्बन गरी न्याय परिषद् ऐन तथा नेपालको संविधान बमोजिम कारबाही गर्न माग गरिएको छ ।
भारतको सीतामढीमा अध्ययनरत २२ वर्षीय त्रिलोकप्रताप सिंहको राजपुर बमकाण्डमा जिउँदै जलाएर हत्या भएको थियो । “जबसम्म सास रहन्छ, म न्यायका लागि लडिरहन्छु,” श्रीनारायण सिंहको भनाइ छ ।
यसअघि जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमलाई दोषी ठहर गर्दै २०८१ वैशाख १४ गते जन्मकैदको फैसला सुनाएको थियो । तर उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले सो फैसला उल्ट्याउँदै आलमसहित उनका भाइ मोहम्मद महताद आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएको हो ।
पाँच वर्ष आठ महिना आठ दिन जेल जीवन बिताएका आलम अदालतको निर्णयसँगै हाल रिहा भएका छन् र पारिवारिक भेटघाटमा व्यस्त रहेको बताइएको छ ।




