सर्लाही । सर्लाहीको गोडैता नगरपालिका ६ बगदहमा गोरेटो बाटोको विषयमा भएको विवादले ज्यान लिने घटना घटेको छ । ६८ वर्षीया राम दुलारी रायको कुटपिटबाट मृत्यु भएपछि प्रहरीले २७ वर्षीय राम अधिन रायलाई पक्राउ गरेको छ । उनी सोही स्थानका बासिन्दा हुन् ।
प्रहरीका अनुसार राम अधिनले मंगलबार बेलुकी गोरेटो बाटोको विवादलाई लिएर राम दुलारी र उनकी बुहारीलाई कुटपिट गरेका थिए । घटनामा गम्भीर घाइते भएकी राम दुलारीलाई उपचारका लागि जिल्ला सरकारी अस्पताल सिन्धुली लगिएको थियो ।
उपचारका क्रममा बुधबार दिउँसो उनको मृत्यु भएको हो । घटनामा घाइते राम दुलारीकी बुहारीको अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




