सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका ४ स्थित खैरवा टोलमा शनिबार बिहान सडक विस्तारका क्रममा उत्पन्न विवादले उग्र रुप लिँदा दुई पक्षबीच झडप भएको छ । झडपमा प्रहरीसहित १० जना घाइते भएका छन् । सडक विस्तारको विषयमा विवाद चर्किएपछि स्थिति तनावग्रस्त बन्दा ढुंगा हानाहानसमेत भएको थियो ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नुका साथै एक राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिए । झडपका क्रममा प्रहरी निरीक्षक दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ भने प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकोमा चोट लागेको छ ।
दुवैको बरहथवा नगर अस्पतालमा उपचार भइरहेको छ । यस्तै, स्थानीय टीकाबहादुर कार्की (५०), कुलबहादुर कार्की (५२), सञ्जय कुशवाह (३५), रमेश महतो (४२), इन्दु देवी (३८), प्रदीप कुशवाह (२६), अनिल कुशवाह (२८) र उमेश महतो (३५) समेत झडपमा घाइते भएका छन् ।
घाइतेमध्ये टीकाबहादुर कार्की र कुलबहादुर कार्कीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । हाल घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




