बारा । बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवसहित दुई जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६–६ महिनाको कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार (असार ८) भ्रष्टाचार मुद्दामा संलग्न आरोपितहरूमध्ये यादव र केएस मल्टिपर्पस प्रालिका अध्यक्ष कमल कुमार उपाध्यायलाई दोषी ठहर गर्दै कैद सजाय र जरिवाना तोकेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ९ गते यादव, लेखापाल हासिम मियाँ अन्सारी, र केएस मल्टिपर्पस प्रालिका अध्यक्ष कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको झन्डै एक महिनापछि अदालतले फैसला सुनाएको हो ।
अदालतले दोषी ठहर भएका यादव र उपाध्यायलाई जनही ६–६ महिनाको कैद सजायका साथै एक लाख १७ हजारभन्दा बढी बिगो बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको हो । त्यस्तै, केएस मल्टिपर्पस प्रालिलाई पनि कारबाहीको भागीदार बनाइएको छ ।
फैसलामा उल्लेख भएअनुसार, पचरौता नगरपालिकाले सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था छलेर झुटा विवरण प्रस्तुत गरी ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी गरेको खुलेको थियो । सोही आधारमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल कुमार उपाध्याय हालै मधेश मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए । उनी वैशाख ७ गते अध्यक्ष नियुक्त भएका थिए भने वैशाख ९ गते भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका थिए ।
उपाध्याय नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्वसचिवसमेत हुन् । उनी बाराबाट प्रकाशन हुने कृपा दैनिकका प्रकाशक तथा प्रधान सम्पादकको रूपमा पनि परिचित छन् ।




