काठमाडौं । काठमाडौंमा कुटपिट गरी एक युवकको हत्या गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि बारा निजगढ नगरपालिका ८ निवासी ३२ वर्षीय कृष्ण लामाको हत्या गरेको आरोप लागेको हो ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ टुसाल बस्ने तथा मकवानपुर घर भएका बिकास लामा, बारा निजगढ नगरपालिका ७ निवासी २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय एक किशोर र मकवानपुर बकैया गाउँपालिका २ निवासी २३ वर्षीय निसान जिम्भा रहेका छन् ।
शुक्रबार राति बिकासको बहिनीको जन्मदिन मनाउने बहानामा कृष्ण लामालाई बुढानिलकण्ठ नगरपालिका ५ टुसालस्थित बिकासको घरमा बोलाई कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका लामाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
चारै जनामाथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




