रौतहट । रौतहटको मौलापुर नगरपालिकाले देशमै उदाहरणीय मानिएको ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत नेपाल विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।
नगर प्रमुख रिना कुमारी साहले हालै नेपाल विद्युत प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । यो रकम चालु आर्थिक वर्ष २०८१/८२ अन्तर्गत नगरवासीको विद्युत महसुल भुक्तानीका लागि प्रदान गरिएको हो ।
यसअघि नै २ करोड ५७ लाख १० हजार रुपैयाँ निकासा गरिसकेको मौलापुर नगरपालिकाले हालसम्म यो योजनामा कुल ३ करोड १७ लाख १० हजार रुपैयाँ खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।
प्राधिकरणका अनुसार, हाल प्रदान गरिएको रकमले २०८२ सालको भदौ मसान्तसम्मको विद्युत महसुल धान्न सक्ने अनुमान गरिएको छ । शून्य कर नीतिअन्तर्गत मौलापुर नगरपालिकाले नगरवासीलाई घरेलु तथा कृषि प्रयोजनका सम्पूर्ण विद्युत महसुलबाट पूर्णरूपमा मुक्त गराउँदै आएको छ ।
सामान्य प्रशासनिक संरचनाले कर संकलन गरी सेवा प्रवाह गर्ने परिपाटीलाई चुनौती दिँदै मौलापुरले नि:शुल्क आधारभूत सेवा वितरणमार्फत स्थानीय शासनमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
नगर प्रमुख साहको दूरदर्शी, पारदर्शी र समर्पित नेतृत्वले नगरवासीलाई सशक्त र आत्मनिर्भर नागरिकको अनुभूति दिलाएको छ । “अपन नगर, मौलापुर नगर” भन्ने नाराले जनताबीच विश्वास र अपनत्वको भावना थप मजबुत बनाएको छ ।
यस किसिमका योजनाले स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र सेवा-केन्द्रित शासन व्यवस्थाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै अन्य पालिकाहरूलाई समेत प्रेरणा दिने विश्वास लिइएको छ ।




