जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न १३ औं नगरसभामा नगरप्रमुख मनोज कुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वच्छता, समावेशी विकास, पूर्वाधार सुधार, शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिए ।
फोहरमैला व्यवस्थापनमा आधुनिकता
नीति अनुसार, कुहिने र नकुहिने फोहर छुट्याएर कम्पोस्ट मल तथा ऊर्जा उत्पादन गरिनेछ, जसलाई कृषि कार्यमा प्रयोग गरिने योजना छ । फोहर व्यवस्थापनमा दक्ष जनशक्ति र प्रविधिको प्रयोग गरिने जनाइएको छ । साथै, छिमेकी नगरहरूसँगको समन्वयमा सामूहिक सेनेटरी ल्यान्डफिल साइट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
स्वास्थ्य र लामखुट्टे नियन्त्रणमा ठोस योजना
जनकपुरधामको दीर्घकालीन समस्या बनेको लामखुट्टे नियन्त्रणका लागि विज्ञको परामर्शमा विशेष कार्यक्रम लागू गरिनेछ । साथै, विपन्न तथा अपांगता भएका नागरिकलाई नि:शुल्क स्वास्थ्य बीमा, विद्यालयमा स्वास्थ्य परीक्षण कक्ष र घरदैलो सेवा सञ्चालन गरिनेछ ।
पर्यटन प्रवर्द्धन र सार्वजनिक संरचना संरक्षण
नगरपालिकाले रंगभूमि मैदान, ऐतिहासिक पोखरीहरूको सरसफाइ, डिल सौन्दर्यीकरण, पार्किङ समस्या समाधान र पर्यटक गाइड कार्यविधि निर्माण जस्ता काम अघि बढाउनेछ । साथै, परिक्रमा क्षेत्रमा दर्ता नभएका ई-रिक्सालाई निषेध गर्ने नीति पनि सार्वजनिक गरिएको छ ।
शिक्षा र खेलकुदमा लगानी
शिक्षा क्षेत्रमा विद्यालयहरूमा इन्टरनेट जडान, युवा स्वयंसेवक शिक्षक परिचालन, बाल क्लब स्थापना र धुम्रपान तथा चलचित्र हेर्न प्रतिबन्ध कार्यक्रम समावेश छन् । खेलकुदतर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेतालाई सम्मान गरिनेछ भने प्रत्येक दुई वर्षमा वृहत खेलकुद महोत्सव आयोजना गरिनेछ ।
कर छुट र प्रविधिको प्रयोग
तीन लाख रुपैयाँसम्मको सम्पत्ति कर तिर्ने करदातालाई छुट दिइने नीति लिइएको छ । समयमै कर बुझाउने महिला र पुरुषलाई छुट छुट दिइनेछ । कर प्रणालीलाई डिजिटल बनाउन मोबाइल एप निर्माण गरिने योजना समावेश गरिएको छ ।
कृषि र युवा लक्षित कार्यक्रम
‘एक वडा, एक उत्पादन’ तथा ‘एक वडा, एक पशु फर्म’ कार्यक्रम सञ्चालन गरिनेछ । उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिनेछ । बेरोजगार युवाका लागि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग, सीप विकास तालिम कार्यक्रम लागू गरिने छ ।
वातावरण संरक्षण र पूर्वाधार सुधार
सडकहरूको नामकरण गरी वैज्ञानिक घर नम्बर प्रणाली लागू गरिनेछ । खुला व्यायामशाला स्थापना, प्लास्टिक झोला निषेध तथा विद्युतीय सवारीको प्रवर्द्धन गरिने योजना रहेको छ ।
सञ्चार सशक्तीकरण
स्थानीय सञ्चार संस्थाहरूलाई सशक्त बनाउन पत्रकार महासंघ तथा अन्य संस्थाहरूसँग समन्वय गरिनेछ । साथै, ‘उपमहानगर, हाम्रो जनकपुरधाम’ नामक रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिनेछ ।
समावेशी र दिगो विकासमा विशेष ध्यान
नीति तथा कार्यक्रममा महिला, दलित, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन, भू-उपयोग योजना, बस्ती विकास तथा उद्योग व्यापार प्रवर्द्धन लगायतका विषय समेटिएका छन् ।
नगरसभामा उपप्रमुख किशोरी साह, प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, उपमहानगरका २५ वटै वडाका अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको यो नीति तथा कार्यक्रम साफ, समावेशी, दिगो र विकासोन्मुख शहर निर्माण गर्ने लक्ष्यमा केन्द्रित देखिन्छ ।




