भद्रपुर । झापाको बिर्तामोड नगरपालिका १ स्थित बिर्तासिटी अस्पताल नजिकको एक चिया नास्ता पसलमा आगलागी भएको छ । टिनको छाना र बार लगाइएको उक्त भुइँतलाको पसलमा दिउँसो ४ बजेतिर आगो लागेको हो ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पसल सञ्चालक बलभद्र प्रसाईकी श्रीमती ३८ वर्षीया सोइता प्रसाईंले मादक पदार्थ सेवन पश्चात श्रीमान्सँग झगडा भएको र त्यसकै क्रममा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आगो लगाएको आरोप लागेकी सोइता हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयवासी र बिर्तामोड नगरपालिकाको सहयोगमा आगो सुरु भएको करिब २० मिनेटपछि नियन्त्रणमा लिइएको थियो ।
आगलागीका कारण खाजा–नास्ताका सामान, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्रका सामाग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।






