रौतहट । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहहरूले असार १० गतेभित्र नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर रौतहटका १८ स्थानीय तहमध्ये ५ पालिकाले तोकिएको समय सीमाभित्र आगामी वर्षको बजेट ल्याउन सकेका छैनन् ।
देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाले असार १० गतेभित्र नगरसभा वा गाउँसभा मार्फत बजेट पारित गर्न सकेनन् ।
देवाही गोनाही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनञ्जयप्रसाद दासका अनुसार नगरप्रमुख प्रेमलाल साह कानु अस्वस्थ भई उपचाररत रहेको कारण नगरसभा हुन सकेन ।
फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले भने बजेट नआउनुको कारण जनप्रतिनिधिहरूबीच कुनै विवाद नभए पनि चालु आर्थिक वर्षकै बजेट कार्यान्वयनमा व्यस्तताले गर्दा ढिलाइ भएको बताइन् । उनले असार महिनाभित्र बजेट सार्वजनिक गरिने जानकारी दिइन् ।
वृन्दावन नगरपालिकाले असार १० गते नगरसभा आह्वान गरेपनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको आदेशका कारण सभा हुन सकेन । नगरप्रमुख विनोदप्रसाद कुर्मीका अनुसार उपप्रमुख संगीताकुमारी रामको निवेदनमा अदालतले असार १३ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
दुर्गा भगवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले भने जनप्रतिनिधिहरूबीच समन्वयको अभावका कारण सभा डाक्न नसकिएको बताए ।
यस्तै, यमुनामाई गाउँपालिकाका अध्यक्ष महम्मद सउदका अनुसार बजेट सम्बन्धी छलफल कार्यपालिकामा जारी रहेको र चाँडै गाउँसभा आह्वान गरी बजेट सार्वजनिक गरिने छ ।
यता रौतहटका अन्य १३ पालिकाले भने ऐनअनुसार असार १० गतेभित्र आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् । ती पालिकाहरूको बजेट विवरण यसप्रकार छ;
राजपुर नगरपालिका — रु ५७ करोड ५३ लाख ७८ हजार
कटहरिया नगरपालिका — रु ५४ करोड २५ लाख ५२ हजार ४७५
माधवनारायण नगरपालिका — रु ५३ करोड ३५ लाख ८९ हजार
गरुडा नगरपालिका — रु ६९ करोड २६ लाख १७ हजार
बौधीमाई नगरपालिका — रु ४३ करोड ९० लाख ७६ हजार ९०९
राजदेवी नगरपालिका — रु ५६ करोड ८५ लाख २१ हजार २१२
गढिमाई नगरपालिका — रु ५४ करोड ९१ लाख ७२ हजार १०८
ईशनाथ नगरपालिका — रु ४९ करोड ६५ लाख ५२ हजार ४९७
चन्द्रपुर नगरपालिका — रु १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६४०
गौर नगरपालिका — रु ६१ करोड १५ लाख ९७ हजार २६१
मौलापुर नगरपालिका — रु ३९ करोड ५० लाख
परोहा नगरपालिका — रु ५३ करोड ६७ लाख ८२ हजार ६४
गुजरा नगरपालिका — रु ७९ करोड ५३ लाख ५१ हजार ९५०
स्थानीय तहहरूले असार मसान्तभित्र आफ्ना बजेट पास गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ । समयमै बजेट ल्याउन नसक्ने पालिकाहरूले अब सम्भव भएसम्म चाँडै सभा बोलाएर कानुनी प्रक्रिया पुरा गर्नु पर्नेछ ।




