सिराहा । सिराहाको विभिन्न स्थानबाट शनिबार प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका १२ स्थित बेल्हा कमला बाँध क्षेत्रबाट प्रहरीले करिब १ ग्राम ३४० मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई दिउँसो नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका ८ बडकी टोलका २४ वर्षीय रमेश कामती र २० वर्षीय दीपक कामती रहेका छन् । प्रहरी चौकी बेल्हाबाट खटिएको टोलीले स ६ प ४९३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई माडरबाट कल्याणपुरतर्फ जाँदै गर्दा शंका लागेर जाँच गर्दा लागूऔषध बरामद भएको जनाएको छ ।
त्यसैगरी, सिराहाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरस्थित सडकबाट शनिबार साँझ प्रहरीले ब्राउनसुगर जस्तो देखिने करिब १ ग्राम पदार्थसहित धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा बस्ने १९ वर्षीय विष्णु पासवानलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिनुका साथै उनले प्रयोग गरेको बागमती प्रदेश ०२–०३९ प ९४२१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । प्रहरीले दुवै घटनामा पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




