हेटौंडा । मकवानपुर जिल्लाको बकैया गाउँपालिका ७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई जानकारी नदिई भवन निर्माण कार्य सुरु गरिएको पाइएको छ । विद्यालयकै क्षेत्रभित्र भवन निर्माण कार्य भइरहेको खबर पाएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनले कडा आपत्ति जनाएका छन् ।
विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा नयाँ भवन निर्माण थालिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङका अनुसार कुनै पनि प्रकारको पूर्वस्वीकृति वा जानकारी नदिई भवन निर्माणको काम थालिएको हो ।
“विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रमा संरचना निर्माण गर्दा सम्बन्धित निकायसँग पूर्व स्वीकृति, छलफल तथा पारदर्शिता अनिवार्य हुन्छ,” उनले भने, “तर निर्माण समितिले ती प्रक्रिया पालना नगरेको देखिएको छ ।”
विद्यालय प्रशासनले अब उक्त निर्माण बारे आवश्यक प्रक्रिया पुरा गर्न र स्पष्ट जानकारी दिन सम्बन्धित पक्षसँग माग गरेको छ । स्थानीय स्रोतका अनुसार, स्व. नेत्र राईको स्मृतिमा भवन निर्माण गर्ने उद्देश्य भएपनि प्रक्रियागत त्रुटिका कारण अहिले विवाद उत्पन्न भएको हो ।
सम्बन्धित निकायबीच समन्वय तथा पारदर्शिता नहुँदा भविष्यमा थप विवाद र कानुनी जटिलता आउन सक्ने भन्दै विद्यालय समुदायले चिन्ता व्यक्त गरेका छन् ।






