सिरहा । लामो समयदेखि आकाशे वर्षा नहुँदा सिरहामा यो वर्षको धान रोपाइँ कार्य निकै प्रभावित भएको छ । कृषि ज्ञान केन्द्र, सिरहाका अनुसार जिल्लामा हालसम्म जम्मा १८ प्रतिशत (९ हजार ७ सय २० हेक्टर) जग्गामा मात्र धान रोपाइँ सम्पन्न भएको छ । सिरहामा कुल ५४ हजार हेक्टर क्षेत्रफल धान खेतीका लागि योग्य छ । तर, लगातारको खडेरी र सिँचाइ सुविधा अभावका कारण बाँकी ८२ प्रतिशत खेत हालसम्म बाँझै छन् ।
कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठका अनुसार वर्षा नभएकाले धानको बेर्ना ढिलो तयार भएको र त्यसपछि पनि पर्याप्त वर्षा नपरेकाले अत्यन्तै कम क्षेत्रमा मात्र रोपाइँ हुन सकेको हो । “असार १५ भित्रै रोपाइँ सकेर किसानले खेतीको स्याहार गर्नुपर्ने समय हो, तर अहिले किसानहरू पानी तान्ने मोटर र वैकल्पिक सिँचाइ प्रणालीमा भर परेर खेतमा पुगिरहेका छन्,” महासेठले बताए । अर्कोतर्फ, कृषि मजदूरको अभाव पनि धान रोपाइँमा बाधक बन्न पुगेको छ ।
“सिँचाइको सुविधा त छैन नै, कामदार पनि पाउन मुस्किल परेको छ,” गोलबजार १० का किसान राम किसुन महतोको गुनासो छ । सिरहामा भदैया, चैते र वर्षे गरी तीन प्रकारका धान उत्पादन हुने गर्दछन् । तर, यस वर्षको मुख्य रोपाइँ सिजनमै वर्षा नहुँदा धान उत्पादनमा ठूलो असर पर्ने अनुमान गरिएको छ । जिल्लाभर अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् । कृषि विज्ञहरूका अनुसार यदि छिट्टै वर्षा नभए यो वर्षको धान उत्पादनमा गम्भीर गिरावट आउन सक्छ ।




