काठमाडौं । अभिलेखमै नरहेको विद्यालयको नाममा भवन निर्माणको नाउँमा साढे सात लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले डोल्पाको तत्कालीन जिल्ला प्राविधिक कार्यालय, दुनैका तत्कालीन प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सँगिता बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा तत्कालीन दुनै गाविस २ र ३ मा रहेको दुर्गा मावि प्रावि तिप्लाको नाममा विद्यालय भवन बनाउने भन्दै ७ लाख ६० हजार रुपैयाँको रकम हिनामिना गरेका हुन् । तर सो स्थानमा सोही नामको विद्यालय अभिलेखमा नरहेको र अहिलेसम्म कुनै पनि भवन निर्माण नभएको पाइएको छ ।
हालको ठूलीभेरी नगरपालिका ४ मा पर्ने तिप्लामा ‘श्री लालिगुराँस आधारभूत विद्यालय’ मात्र सञ्चालनमा रहेको पाइएको छ । सो विद्यालयका नाममा आर्थिक वर्ष २०६७/०६८ मा कुनै पनि बजेट विनियोजन नभएको आयोगको अनुसन्धानमा खुलासा भएको छ ।
उनीहरूले नक्कली उपभोक्ता समिति बनाएर, फर्जी कागजात तयार पारेर र भवन नबनाई बैंक खातामार्फत भुक्तानी लिएको प्रमाणित भएपछि विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।






