काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै निर्माण व्यवसायीमार्फत तीन फरक नाममा टेन्डर भर्न लगाई मिलेमतोमा गुणस्तरहीन बजार सेड निर्माण गरी करोडौं सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा ९ जना सरकारी कर्मचारी, स्थानीय जनप्रतिनिधि र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतीदेवी मण्डल, प्रमुख प्रशासकीय अधिकृतहरू गौरीशंकर मण्डल र सावनकुमार चौधरी, सब–इन्जिनियर छोटे मण्डल, नायब सुब्बा नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, सह–लेखापाल विनोदकुमार मण्डल तथा एकता सप्लायर्स प्रालिका सञ्चालक इन्द्रेशकुमार सिंहलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा “बजार नाला तथा फोहोरमैला व्यवस्थापन” शीर्षकमा कुनै निर्णय नगरी गोप्य रूपमा एउटै निर्माण व्यवसायीसँग मिलेमतो गर्दै फरक–फरक तीन वटा कम्पनीमार्फत टेन्डर गराइएको थियो। प्रतिस्पर्धा विनै एकता सप्लायर्ससँग सम्झौता गराई पटक–पटक म्याद थप्दै गुणस्तरहीन बजार सेड निर्माण गरिएको आयोगको आरोप छ ।
त्यसैगरी, निर्माण सम्पन्न नहुँदै वा कामभन्दा बढी नापी–किताब तयार गरी भुक्तानी दिइएको पाइएको छ । आयोगका अनुसार यसरी सरकारी प्रक्रिया मिचेर गरिएको कार्यबाट करिब ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना भएको हो । अख्तियारले भ्रष्टाचारमा संलग्न प्रतिवादीहरूसँग सोही रकम बराबरको विगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।






