सर्लाही । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्कालाई फोनमा अपशब्द प्रयोग गरेको आरोपमा उनीमाथि आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दायर भई पक्राउ पुर्जी जारी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार, यादवविरुद्ध अदालतबाट विधिवत रूपमा पक्राउ आदेश जारी भइसकेको छ । घटनासँग सम्बन्धित एक अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको हो ।
उक्त अडियोमा जसपा प्रदेश अध्यक्ष यादवले एसपी खड्कासँग फोन संवादको क्रममा गालीगलौज गरेको सुनिन्छ । अडियो सार्वजनिक भएपछि यसको सत्यतथ्य छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी विनोद घिमिरेले जानकारी दिए ।
प्रहरीले घटनासँग सम्बन्धित अनुसन्धान अघि बढाएको छ भने अशोक यादव हाल फरार रहेको जनाइएको छ । यस विषयमा जनता समाजवादी पार्टीले भने अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।




