सप्तरी । सप्तरीको राजबिराज नगरपालिका १५ देउरी भरूवा टोलमा गएराति भएको आगलागीबाट करिब ९ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय लालेश्वर यादवको गोठमा अचानक आगलागी हुँदा गोठसँगै रहेका दुई वटा घर समेत जलेर पूर्णरूपमा नष्ट भएका छन् ।
आगलागीबाट गोठ, घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडाकुडा र अन्य सामान जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि स्थानीय बासिन्दा र राजबिराजस्थित दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिनुअघि नै ठूलो क्षति भइसकेको थियो ।
प्रहरीले आगलागीको कारण बारे अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ । स्थानीय प्रशासनले पीडित परिवारलाई तत्काल राहत र पुनः स्थापनाको व्यवस्था गर्न पहल गरिरहेको जनाएको छ ।




