भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका २ धोत्लेखानीमा आइतबार राति भयावह पारिवारिक घटना भएको छ । ज्वाइँ राजेन्द्र राईले सासु-ससुरा, पत्नी र सालोलाई चक्कु प्रहार गरी हत्या गरेका छन् । घटनापछि उनले आफूलाई पनि चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार, घटनाको जानकारी राजेन्द्र राईले आफैं प्रहरीलाई फोन गरेर दिएका थिए । त्यसपछि प्रहरी घटनास्थलतर्फ पुगेको थियो । उनलाई रामप्रसादराई १ हुर्बु भञ्ज्याङस्थित सडक किनारमा पेटमा तीन ठाउँमा चक्कु लागेको गम्भीर अवस्थामा फेला पारिएको हो ।
हताकाण्डमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, राईकी पत्नी र सालोको ज्यान गएको हो । प्रारम्भिक अनुसन्धान अनुसार, घरेलु विवादकै कारण घटनाले हिंसात्मक रूप लिएको हो । घटना बारे बोल्दै वडा अध्यक्ष राजकुमार तामाङले भने, “घटनास्थलमा चारै जनाको शव रहेको छ, कानुनी प्रक्रिया अगाडि बढिरहेको छ । प्रशासन अनुसन्धानमा जुटेको छ ।”
घाइते अवस्थामै प्रहरीलाई दिएको प्रारम्भिक बयान अनुसार, राजेन्द्रले सासुले आफूमाथि चक्कु प्रहार गरेपछि प्रतिकार स्वरूप आफूले चारै जनामाथि चक्कु प्रहार गरेको दाबी गरेका छन् । राजेन्द्रलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको भए पनि अवस्था गम्भीर भएका कारण थप उपचारका लागि धरान वा अन्य केन्द्रमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार, राईको पेटमा गहिरो चोट लागेको छ र अवस्था चिन्ताजनक रहेको छ । वडा नम्बर २ का सदस्य जीवन जर्गा मगरका अनुसार, राजेन्द्र राई घटना हुनुभन्दा करिब एक साताअघि देखि ससुरालीमै बस्दै आएका थिए । यस दु:खद घटनाले स्थानीयवासी र समुदायलाई स्तब्ध बनाएको छ । प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।






