सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका २ बाट ठूलो मात्रामा नियन्त्रित लागूऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुकी भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई सीमावर्ती क्षेत्रमा खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका ११ का २५ वर्षीय लक्ष्मण मलाह र सोही नगरपालिका १३ का २४ वर्षीय राजेश निरौला रहेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट डाईजेपाम ८६ एम्पुल, फेनारगन ८६ एम्पुल र बुप्रेनोर्फिन ८८ एम्पुल बरामद गरिएको छ ।
प्रहरी चौकी मौवाहाबाट खटिएको टोलीले शंकास्पद रूपमा उनीहरूलाई जाँच गर्दा लागूऔषध फेला परेको हो । प्रहरीले दुवै जनामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ ।




