पर्सा । पर्सा जिल्लाको धोबिनी गाउँपालिका ५ स्थित एक कुखुराफार्ममा आइतबार राति आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय ४२ वर्षीय दैदर मियाँको कुखुराफार्ममा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
रातिको समयमा अचानक भएको आगलागीले फर्मभित्र रहेको सामाग्री र संरचनामा ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइए पनि फर्ममा रहेका कुखुरा, दाना तथा आवश्यक सामाग्री जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।




