धनुषा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको हंसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुदेवी झासहित ९ जना सरकारी कर्मचारी र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएका सरकारी कर्मचारीहरूमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर दिनेश कुमार मण्डल, योजना शाखाका खरिदार शत्रुघन साह, लेखापाल नेत्र लुंगेली, सब-इन्जिनियर विनोद कुमार मण्डल र खरिदार ज्ञानेन्द्र कुमार झा रहेका छन् ।
साथै, अख्तियारले देव कन्स्ट्रक्सनका प्रोप्राइटर शुभचन्द्र मण्डललाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार हंसपुर नगरपालिका ५ स्थित सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान योजना कार्यान्वयनको क्रममा योजनालाई टुक्रा टुक्रा पारेर अनियमित रूपमा रकम भुक्तानी गरिएको थियो ।
उनीहरू सबै मिलेमतोमा गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारेर वास्तविकभन्दा बढी काम भएको देखाई रकम भुक्तानी गरिएको आरोप अख्तियारले लगाएको छ । आर्थिक वर्ष २०७६/०७७ को नगरसभाबाट स्वीकृत उक्त योजना कार्यान्वयनका क्रममा झन्डै ५२ लाख ७२ हजार १६८ रुपैयाँ बराबरको भ्रष्टाचार भएको अख्तियारको दाबी छ । सोही आधारमा सबै प्रतिवादीविरुद्ध फरक–फरक बिगो कायम गरी मुद्दा अघि बढाइएको हो ।




