बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका ५ स्थित भरत चोकबाट सोमबार बेलुकी ठूलो मात्रामा नियन्त्रित लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका ७ निवासी २० वर्षीय सेराज अंसारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनलाई विशेष सूचनाका आधारमा लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अंसारीको साथबाट नोर्फिन १ हजार ५ सय एम्पुल, फेनारगन १ हजार ५ सय एम्पुल र डाईजेपाम १ हजार ५ सय एम्पुल बरामद गरेको छ । पक्राउ परेका अंसारीमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीले यसअघि पनि बारा जिल्लाका विभिन्न स्थानबाट पटक पटक लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ । प्रहरीले लागूऔषध ओसारपसार तथा प्रयोगविरुद्ध नियमित अनुगमन र निगरानीलाई तीव्र बनाएको जनाएको छ ।




