मोरङ । आफ्नै भाउजु ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या गरेको अभियोगमा रतुवामाई नगरपालिका ६ निवासी ६९ वर्षीय टंक बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो आफ्नै बारीमा टिकामाया मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनापछि इलाका प्रहरी कार्यालय सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले घटनास्थलको अनुसन्धान गर्दै जाँदा टंक बहादुरले हत्या गरेको प्रारम्भिक प्रमाण फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार टंक बहादुरले आपसी झै-झगडा र रिसिबीका कारण हसियाको बिड प्रहार गरी टिकामायाको हत्या गरेको स्वीकारेका छन् ।
घटनासँग सम्बन्धित थप अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुमति लिई कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन गर्ने काम जारी रहेको छ ।






