सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका १ खोरियाटोलमा फलामको गेटले किचिँदा चार वर्षीय बालकको ज्यान गएको छ । स्थानीय सञ्जिव कट्वालका छोरा समिरजङ कट्वालको बिहीबार मृत्यु भएको हो ।
साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट अचानक लडेपछि त्यसमा किचिएर बालक गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि विराटनगरको नोबेल टिचिङ अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटना बारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको जानकारी दिए । डीएसपी काफ्लेले घटना बारे थप अनुसन्धान भइरहेको समेत जानकारी दिए ।




