रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका ७ उचिडिह टोलमा आइतबार राति भएको आगलागीमा करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय दसै पासवानको घरमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विद्युत सर्ट भएर अचानक आगो लागेपछि घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडाकुँडा लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । घटनापछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । हाल घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




