काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका ९ स्थित काभ्रेभञ्ज्याङबाट ठूलो परिमाणमा नियन्त्रित लागुऔषधसहित चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७७३ नम्बरको हायस सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लागूऔषध फेला पारी चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूमा सर्लाही लालबन्दी नगरपालिका ५ का ४२ वर्षीय लाल बाबु कापर, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ६ का २२ वर्षीय हेल कुमार परियार, रामेछाप मन्थली नगरपालिका ७ का २१ वर्षीय रूपेश भुजेल र सर्लाही कविलासी नगरपालिका ३ का २१ वर्षीय राजेश यादव रहेका छन् ।
उनीहरूको साथबाट बरामद गरिएको लागूऔषधमा ट्रामाडोल २०,९४० ट्याब्लेट, नाईट्राजेपाम २,९५० ट्याब्लेट, डाइजेपाम ५३ एम्पुल, बुप्रेनोर्फिन ५३ एम्पुल र फेनारगन ५३ एम्पुल रहेका छन् । पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।






