सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका ३ जम्दहबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । सोमबार बिहान इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले ६० मिलिग्राम लागूपदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ६ निवासी २० वर्षीय जय कुमार नायक र मिर्चैया नगरपालिका ७ निवासी २७ वर्षीय रञ्जित कुमार मण्डल रहेका छन् । उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेर चेकजाँच गर्दा उक्त खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
हाल उनीहरूलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोबार तथा सेवन विरुद्धको अभियान अन्तर्गत प्रहरीको निगरानी सक्रिय रहेको समेत जनाइएको छ ।




