सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १३ बाँके चोक नजिकै भएको सडक दुर्घटनामा नेपाली सेनाका दुई सिपाहीसहित पाँच जना घाइते भएका छन् । मोटरसाइकल र पिकअप ठोक्किँएपछि आगलागी समेत भएको उक्त दुर्घटना सोमबार बिहान भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटना बयलवासबाट बाँके खोलातर्फ गइरहेको बा ८ च ६५ नम्बरको पिकअप र श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल बीच रेल्वे ट्रयाक नजिक ठोक्किँदा भएको हो ।
नेपाली सेना र अन्य सर्वसाधारण घाइते
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईका अनुसार दुर्घटनामा भगवती दल गण इटहरीमा कार्यरत २३ वर्षीय सिपाही चन्द्रदेव धामी र मध्यमपश्चिम पृतना बुटवलमा कार्यरत २२ वर्षीय सिपाही प्रशेस चौधरी घाइते भएका छन् ।
त्यसैगरी मोटरसाइकलमा सवार २१ वर्षीय अमित चौधरी, पिकअप चालक हरिवन नगरपालिका ३ डाबरी टोल निवासी ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका २ निवासी ६५ वर्षीय लेखनाथ उपाध्याय पनि दुर्घटनामा घाइते भएका छन् ।
घाइतेको उपचार जारी
दुर्घटनापछि सवारी साधनमा आगलागी समेत भएको र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको डिएसपी राईले बताए । उनीहरूको अवस्था गम्भीर नरहेको र हाल उपचार भइरहेकै जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनाको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । सडक सुरक्षाको दृष्टिले यो दुर्घटनाले स्थानीयस्तरमा ट्राफिक सचेतना र व्यवस्थापन प्रति गम्भीरता आवश्यक रहेको संकेत पनि गरेको छ ।




